काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना सांसदहरूलाई अबदेखि आधिकारिक कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न निर्देशन दिएको छ।
पार्टीको संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गर्दै सांसदहरूका लेटरप्याड, कार्ड तथा अन्य कागजातमा एकरूपता कायम गर्ने नीति अघि सारेको हो।


पार्टीका प्रवक्ता मनिष झा का अनुसार सांसदहरूलाई पदको विशेष सम्मानभन्दा जिम्मेवारी र काममा केन्द्रित हुन आग्रह गरिएको छ। ‘माननीय’ जस्ता सम्मानसूचक शब्द हटाएर जनप्रतिनिधिलाई थप जवाफदेही र व्यवहारिक बनाउने उद्देश्य पार्टीको रहेको बताइएको छ।
बैठकमा सांसदहरूलाई अनुभव र क्षमता अभिवृद्धिका लागि मेन्टर तथा सल्लाहकारको सहयोग लिन पनि सुझाव दिइएको छ। नयाँ निर्वाचित प्रतिनिधिहरूलाई सिकाइको प्रक्रिया निरन्तर राख्न र आवश्यक परामर्शमार्फत कामलाई प्रभावकारी बनाउन नेतृत्वले निर्देशन दिएको हो।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी निर्वाचनको तयारी स्वरूप वैशाख २० गतेदेखि ‘उम्मेदवार क्लब’ सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यस कार्यक्रममार्फत भावी उम्मेदवार छनोट, प्रशिक्षण र राजनीतिक तयारीलाई व्यवस्थित बनाइनेछ।
बैठकमा आगामी निर्वाचनको टिकटका विषयमा कसैले पनि व्यक्तिगत आश्वासन वा प्रतिबद्धता नदिन स्पष्ट निर्देशन दिइएको छ। यदि यस्ता गतिविधि भएको पाइएमा सम्बन्धित व्यक्तिलाई कारबाही गरिने चेतावनी पनि पार्टीले दिएको छ।
रास्वपाले ‘माननीय’ शब्द हटाउने निर्णयलाई नयाँ राजनीतिक संस्कार र सादगीको सन्देशका रूपमा अघि सारेको छ। पद र प्रतिष्ठाभन्दा जनउत्तरदायित्वलाई प्राथमिकता दिने यो कदमले पार्टीले फरक शैलीको राजनीति अभ्यास गर्न खोजेको संकेत गरेको छ।


