कोल्हबी, बारा । कोल्हबी नगरपालिका–५ बोधबनमा निर्माणाधीन सडक स्तरोन्नति योजनामा स्थानीयवासीको विरोध र अवरोधका बाबजुद ठेकेदार पक्षले मनोमानी ढंगले काम अघि बढाएको आरोप लागेको छ।
मधेस प्रदेश सरकारको २५ लाख रुपैयाँ बजेटमा सञ्चालित उक्त योजनामा सडकको बेस र ढलान दुवै ४ मिटर मात्र राखिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।
महेन्द्र राजमार्गसँग जोडिने बोधबनको मुख्य सडक गाउँको प्रमुख आवागमन मार्ग भए पनि सडकको चौडाइ आवश्यकता र प्राविधिक मापदण्डअनुसार नबनाइएको स्थानीयको गुनासो छ।




उनीहरूका अनुसार ४ मिटर चौडाइको ढलान गरिएको भए पनि त्यसका लागि आवश्यक पर्ने पर्याप्त बेस निर्माण नगरिएकाले सडकको दीर्घकालीन स्थायित्वमाथि प्रश्न उठेको छ।
स्थानीयवासीले निर्माण कार्यको गुणस्तर र चौडाइबारे पटक–पटक आपत्ति जनाउँदै कामसमेत रोकेका थिए। तर काम रोकिएपछि मात्रै वडा अध्यक्ष नन्दकिशोर चौधरीको रोहबरमा नापजाँच गरिएको र त्यसक्रममा केही स्थानमा सडकको चौडाइ स्टिमेटभन्दा पनि कम रहेको भेटिएको स्थानीयको दाबी छ।
स्थानीय झप्पु चौधरी, जोगिन्द्र मुखिया लगायतले सडक निर्माणमा आवश्यक मात्रामा ग्राभेल प्रयोग नगरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार करिब ३०० मिटर सडकको बेस निर्माणमा न्यून सामग्री प्रयोग गरिएको छ, जसले सडकको गुणस्तरमा असर पार्ने देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हबी नगर समितिका कोषाध्यक्ष सारजङ्ग (उत्तम) थापाले योजना अघि बढाउँदा स्थानीयसँग पर्याप्त छलफल नगरिएको र उपभोक्ता समिति तथा प्राविधिक पक्षबीच पारदर्शिताको अभाव देखिएको बताए। उनका अनुसार यही कारणले योजना विवादित बनेको हो।
निर्माण पक्षले भने सडक छेउमा रहेका पोखरी र केही स्थानमा जग्गा उपलब्ध नहुँदा सडक चौडा बनाउन नसकिएको दाबी गरेको छ। ठेकेदार बालेश्वर चौधरी र उपभोक्ता समिति अध्यक्ष बलराम अधिकारीले सोही अवस्थालाई आधार बनाएर ४ मिटर चौडाइको स्टिमेट तयार गरिएको बताएका छन्।
तर सडक आसपासका जग्गाधनी झप्पु चौधरी र जङ्गबहादुर साहले विकास निर्माणका लागि आवश्यक जग्गा दिन आफूहरू तयार रहेको बताउँदै आफूहरूसँग कुनै समन्वय नगरिएको आरोप लगाएका छन्।
विवाद बढेपछि स्थानीयवासीले सामूहिक निवेदनमार्फत सडकको चौडाइ र स्टिमेट पुनः संशोधन गर्न माग गरेका छन्। नगरपालिकाले स्थानीयको मागअनुसार आवश्यक प्रक्रिया पूरा भए प्राविधिक मूल्याङ्कन गरी स्टिमेट पुनः संशोधन गर्न सकिने जनाएको छ।
वडा अध्यक्ष नन्दकिशोर चौधरीले प्राविधिक मापदण्ड र जनअपेक्षाअनुसार काम नभएसम्म योजना सम्पन्न भएको सिफारिस नदिने बताएका छन्। यद्यपि स्थानीयवासीले समयमै अनुगमन र हस्तक्षेप नभएको भन्दै सम्बन्धित निकायको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।
स्थानीयको माग स्पष्ट छ—बोधबनको मुख्य सडक गुणस्तरीय, फराकिलो र दीगो बन्नुपर्छ, नकि बजेट सक्ने उद्देश्यले हतारमा निर्माण गरिएको संरचना।






