कलैया । बारा जिल्लाको फेटा गाउँपालिका–१ रजवटिया टोलमा आजदेखि “रजवटिया प्रिमियर लिग” औपचारिक रूपमा सुरु भएको छ। स्थानीय स्तरमा खेलकुदको विकास र युवामा सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको उद्घाटन युवा नेता उमेश दुबेले फिता काटेर गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै दुबेले खेलकुद युवाहरूलाई अनुशासित, ऊर्जाशील र सही दिशामा अघि बढाउने प्रभावकारी माध्यम भएको बताए। उनले यस्ता प्रतियोगिताले गाउँस्तरमै लुकेका खेल प्रतिभालाई उजागर गर्ने विश्वास व्यक्त गर्दै आयोजक समूहको प्रयासको प्रशंसा गरे। साथै, आगामी दिनमा पनि युवामुखी तथा खेलकुदसम्बन्धी कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वडा सदस्य लोहा यादव, समाजसेवी मोहन दास, हिरालाल दास तथा शेसनाथ यादवलगायत स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले खेलकुदले समाजमा भाइचारा, सहकार्य र एकता मजबुत बनाउन सहयोग पुर्याउने धारणा राखेका थिए।
आयोजक समितिका अनुसार प्रतियोगितामा विभिन्न स्थानीय टिमहरूको सहभागिता रहनेछ। केही दिनसम्म सञ्चालन हुने यस लिगले स्थानीय युवाहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै नयाँ खेल प्रतिभा उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


