काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की ले भ्रष्टाचार अझै न्यून हुन नसकेकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिकोत्सव समारोह मा सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण सम्बन्धी काममा सुधारका क्रम देखिए पनि योगदान पर्याप्त नभएको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि अख्तियारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आयोगलाई अझै सक्रिय र निर्भीक रूपमा काम गर्न आग्रह गर्नुभयो। उहाले अख्तियारले गरिरहेका प्रयासको प्रशंसा गर्दै आवश्यक क्षेत्रमा अझ प्रभावकारी काम थाल्नुपर्ने जोड दिनुभयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सम्बोधनक्रममा सुशासन कायम गर्न दिइएका सुझाव सम्बन्धित पक्षले अपेक्षित रूपमा अपनाउन नसकेको गुनासो राख्नुभयो। राईले भ्रष्टाचार नियन्त्रण जिम्मा आयोगमै मात्र नभई सम्पूर्ण राज्य कार्यकारी संयन्त्रमा रहेको बताउनु भयो। उहाँले दण्डात्मक कारबाही आवश्यक भए पनि सुशासनको मात्र आधार नहुने पनि स्पष्ट पार्नुभयो। साथै, अनुसन्धानलाई अझ प्रभावकारी बनाउन नवीनतम प्रविधिको प्रयोग बढाइरहेको जानकारी पनि दिनुभयो।
वार्षिकोत्सवकै पूर्वसन्ध्यामा ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले नेपालको भ्रष्टाचार नियन्त्रण र सुशासनमा पर्याप्त सुधार नभएको देखाएको छ। सन् २०२५ को भ्रष्टाचार अवधारणा सूचकांक (CPI) अनुसार नेपालले १०० मध्ये ३४ अंक प्राप्त गरेको छ — अघिल्लो वर्ष झैँ उस्तै अंक भएपनि विश्वभरि सहभागी १८० देशमध्ये नेपालको स्थान सन् २०२५ मा १०९औँ रहेको छ, सन् २०२४ मा यो १०७औँ थियो।
प्रधानमन्त्री कार्की र आयोग दुवैले निरंतर प्रयास र समन्वयमार्फत देशमा भ्रष्टाचार न्यून गर्ने दिशामा थप जोशका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।