कलैया । बाराको परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा ट्रेक्टरले माटो खसाल्ने क्रममा एक युवकको ज्यान गएको छ।
आइतबार राति भएको उक्त घटनामा प्लास्टिक संकलन गरी जीविकोपार्जन गर्दै आएका अन्दाजी ३५ वर्षीय युवक ट्रेक्टरको चपेटामा परेका हुन्।



स्थानीय रामबाबु रौनियारको खाली जग्गामा माटो खसाल्ने क्रममा युवक च्यापिएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार घटनास्थलको अवस्था हेर्दा ट्रेक्टरले च्यापेर मृत्यु भएको देखिए पनि अन्य पक्षहरूबारे समेत अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन। घटनापछि शवलाई केही पर सारिएको अवस्थासमेत फेला परेकाले घटनालाई शंकास्पद रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको जनाइएको छ। घटनास्थल वरपर रहेका सिसिटिभी फुटेजको अध्ययन गर्दै वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले मृतकको पहिचान खुलाउने र घटनाको यथार्थ कारण पत्ता लगाउने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।



