वीरगञ्ज । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आइतबार वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।
पत्रकारहरूको उल्लेखनीय सहभागितामा भएको सो कार्यक्रम घण्टाघरबाट सुरु भई शहरका मुख्य–मुख्य मार्गहरूको परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर समापन गरिएको थियो।



नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका पदाधिकारी, सञ्चारकर्मी तथा सरोकारवाला पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सचिव विजय महतो, सह–सचिव एसके चौरसियालगायतको सक्रिय सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले हालको अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विभिन्न कोणबाट चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे। उनले संसद्मा छलफलमा रहेका मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक, सूचना प्रविधि ऐनलगायतका कानुनप्रति पत्रकार महासङ्घले गम्भीर चासो राखेको बताए।
खनालले सञ्चार क्षेत्र आर्थिक दबाबमा रहेको, पत्रकारहरूको पलायन बढ्दै गएको तथा निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन वितरण र सूचना प्रवाहमा देखिएको असन्तुलनले पत्रकारिता थप संकटमा पुगेको टिप्पणी गरे।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उनले सम्पूर्ण सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकार, नागरिक समाज र सरोकारवाला सबैबीच साझा ऐक्यबद्धता आवश्यक रहेको धारणा राखे।



