नवीन चौधरी, निजगढ । बाराको निजगढमा एक युवती होटलभित्र मृत अवस्थामा फेला परेपछि घटनाले स्थानीय क्षेत्रमा तरंग सिर्जना गरेको छ । निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलमा बसेकी १९ वर्षीया सीता थिङ रहस्यमय अवस्थामा मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार मृतक सीता थिङ निजगढ नगरपालिका–१२ कोलगाउँ निवासी हुन् । उनी एक युवकसँग होटलमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राति करिब ११ बजेतिर स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि निजगढ सामुदायिक अस्पताल लगिएको थियो । तर, चिकित्सकले अस्पताल पुग्नासाथ मृत घोषणा गरेका थिए ।




घटनाबारे अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय निजगढले युवतीको मृत्यु शंकास्पद देखिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशंका गरिएको प्रहरी स्रोतले जनाएको छ । यद्यपि घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने बताइएको छ ।
प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा होटलमा उनीसँगै रहेका दुई पुरुष र एक महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । अनुसन्धान प्रभावित हुन सक्ने भन्दै पक्राउ परेकाहरूको परिचय भने गोप्य राखिएको छ ।
घटनापछि स्थानीयवासीले होटलहरूको निगरानी, सुरक्षा व्यवस्था तथा अवैध गतिविधिमाथि प्रश्न उठाएका छन् । प्रहरीले होटलका कर्मचारी, आगन्तुक विवरण तथा घटनास्थलका अन्य पक्षबारे समेत सूक्ष्म अनुसन्धान अघि बढाएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय निजगढले घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गरिने र दोषी देखिए कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ ।




