कोल्हबी । सिम्रौनगढ नगरपालिका वडा नं. ७ निवासी अभय दुबे र उनकी पत्नीमाथि निर्घात कुटपिट तथा ज्यान मार्ने प्रयास भएको आरोप लागेको छ। आफ्नै परिवारका सदस्यबाट भएको भनिएको यस घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ।
पीडित अभय दुबेले दिएको जानकारीअनुसार २०८३ वैशाख १४ गते साँझ करिब ६ बजे राजन दुबे, पवन दुबे, सरिता देवी र गुडिया देवीले मिलेर उनी र उनकी पत्नीमाथि आक्रमण गरेका थिए।


आक्रमणका क्रममा उनकी पत्नीको टाउकोमा गम्भीर चोट लागेको, मुखबाट रगत बगेको, घाँटी पछाडि धारिलो हतियारले काटिएको, खुट्टामा चोट लागेको र कपडा च्यातिएको बताइएको छ। त्यस्तै अभय दुबे स्वयंको कम्मर र छाती नजिक धारिलो हतियारले चोट पुर्याइएको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको उनले बताएका छन्।
दुबेका अनुसार उनीहरूलाई लछारपछार गर्दै कुटपिट गरिएको थियो भने घटनाको प्रकृति ज्यान लिने प्रयासजस्तो देखिएको छ। घटनापछि आफू र परिवार निरन्तर त्रासमा रहेको र असुरक्षित महसुस गरिरहेको उनले बताएका छन्।
हाल अभय दुबे र उनकी पत्नीको गौर प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ। दुबेका अनुसार दुवैको अवस्था गम्भीर रहेको र थप उपचार रिपोर्ट आउन बाँकी छ।
पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा परिवारको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग गरेको छ। यद्यपि, घटनाबारे आरोपित पक्षको प्रतिक्रिया आउन बाँकी छ।
यस्तो गम्भीर प्रकृतिको घटनामा तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही नगरे समाजमा दण्डहीनता बढ्ने स्थानीयवासीको चिन्ता छ। पीडित परिवारले न्यायको अपेक्षा गर्दै प्रशासनको प्रभावकारी हस्तक्षेपको माग गरेका छन्।


