रूपेश यादव । रौतहटको बौधीमाई नगरपालिका वडा नं. २ इनर्वामा रहेको ऐतिहासिक श्री रामजानकी मन्दिरको पुनःनिर्माण कार्यको शिलान्यास कार्य सम्पन्न गरिएको छ ।
मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेल तथा वडा नं. २ इनर्वाका वडाध्यक्ष धर्मेन्द्र प्रसाद पटेलले संयुक्त रूपमा मन्दिर निर्माण कार्यको लागि भूमि पूजन गर्दै शिलान्यास गरेका हुन।




आर्थिक वर्ष २०८२/०८३ को मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयद्वारा विनियोजित बजेटबाट पर्यटन विकास कार्यालय गौर, रौतहटमार्फत कार्यान्वयन गरिने “बौधीमाई नगरपालिका-२ इनर्वामा रामजानकी मठ निर्माण कार्य” आयोजना अन्तर्गत उक्त निर्माण कार्य सुरु गरिएको हो ।
वर्षौंदेखि जीर्ण अवस्थामा रहेको रामजानकी मठको पुनःनिर्माण भएपछि धार्मिक तथा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने स्थानीयवासीले अपेक्षा गरेका छन । शिलान्यास कार्यक्रममा इनर्वाका समाजसेवी, बुद्धिजीवी, स्थानीय भद्रभलाद्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
आयोजना सञ्चालक स्थानीय राम सिंह पटेलका अनुसार यस वर्ष करिब २५ लाख रुपैयाँको लागतमा मन्दिरको मूल मन्दिर निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पटेलले धार्मिक सम्पदाको संरक्षणसँगै स्थानीय पर्यटन प्रवर्द्धन गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको बताए । उनले धार्मिक स्थलहरूको विकासले स्थानीय अर्थतन्त्र, संस्कृति तथा सामाजिक एकतालाई समेत मजबुत बनाउने विश्वास व्यक्त गरेका छन ।






