नवीन चौधरी, कोल्हबी । बाराको करैयामाई गाउँपालिकाले सडक मापदण्डभित्र बनेका घरटहरा तथा अन्य संरचना ३० दिनभित्र हटाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार संघ, प्रदेश तथा स्थानीय तहबाट निर्माण तथा स्तरोन्नति गरिएका सडकको क्षेत्रभित्र पर्ने घर, टहरा, गोठ, नाद, पराल तथा पशु बाँध्ने संरचना हटाउन भनिएको हो।




गाउँपालिकाका अनुसार गृह मन्त्रालयको निर्देशन, जिल्ला प्रशासन कार्यालय बाराको पत्राचार तथा गाउँ कार्यपालिका बैठकको निर्णयका आधारमा यो सूचना जारी गरिएको हो। सम्बन्धित वडा कार्यालयमार्फत पनि जानकारी गराइएको जनाइएको छ।
गाउँपालिकाले तोकिएको ३० दिनभित्र संरचना नहटाए प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवद्वारा हस्ताक्षर गरिएको सूचनामा सडक अतिक्रमण हटाएर सडकलाई व्यवस्थित बनाउने उद्देश्य रहेको उल्लेख गरिएको छ। 



