नवीन चौधरी, कलैया, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा बारा जिल्ला सभापति चन्दन स्वर्णकारसहित विभिन्न जिल्लाका १५ जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेपछि बारामा विरोध प्रदर्शन भएको छ।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको र मधेस प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णयसमेत गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। साथै बारामा जिल्ला अधिवेशनको तयारी अघि बढाउने निर्णय गरिएको जनाइएको छ।




यता, रास्वपाले बारा जिल्ला सभापति चन्दन स्वर्णकारमाथि कारबाही गरेको भन्दै बाराको सदरमुकाम कलैया स्थित भरत चोकमा पार्टीका युवा तथा पदाधिकारीहरूले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले “चन्दन स्वर्णकारलाई न्याय दे”, “गुटबन्दी अन्त्य गर” र “निष्पक्ष छानबिन गर” जस्ता नारासहित प्रदर्शन गरेका थिए।
विरोधमा उत्रिएका कार्यकर्ताहरूले पार्टीभित्र गुटबन्दीका कारण निष्पक्ष निर्णय नभएको आरोप लगाउँदै स्वर्णकारमाथिको कारबाही फिर्ता लिन माग गरेका छन्। उनीहरूले केन्द्रीय नेतृत्वले वास्तविक अवस्था बुझेर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
यसैबीच, रास्वपाले वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशनको विशेष तालिका स्वीकृत गर्नुका साथै विभिन्न विभाग तथा तहमा नयाँ जिम्मेवारीसमेत तोकेको जनाएको छ। पार्टी केन्द्रीय समितिको बैठक वैशाख ३० गते बस्ने तयारी रहेको बताइएको छ।



