नवीन चौधरी, कोल्हबी । डुमरवाना विकास मञ्चद्वारा आयोजित प्रथम खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जनशक्ति क्लब कोल्हवी, बाराले जितेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा सर्लाहीको लक्ष्मी नाथ क्लब हरिपुरलाई रोमाञ्चक प्रतिस्पर्धामा पराजित गर्दै जनशक्ति क्लब च्याम्पियन बनेको हो।




फाइनल खेल पाँच सेटसम्म निकै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीबीच कडा टक्कर देखिए पनि अन्ततः जनशक्ति क्लब कोल्हवीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।
उपाधिसँगै विजेता जनशक्ति क्लब कोल्हवी बाराले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गरेको छ। यस्तै, उपविजेता बनेको लक्ष्मी नाथ क्लब हरिपुर सर्लाहीले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) को उपाधि लक्ष्मी नाथ क्लब हरिपुर सर्लाहीकी नेहा चौधरी घोषित भइन् भने ‘बेस्ट स्पाइकर’ को उपाधि जनशक्ति क्लब कोल्हवी बाराकी कोपिला चौधरीले जितिन्।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम डुमरवाना विकास मञ्चका अध्यक्ष गोविन्द चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी प्रमुख अतिथि रहेका थिए भने वडा नम्बर १३ का वडा अध्यक्ष हेमनारायण चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी वडा नम्बर १६ की वडा अध्यक्ष चयन माया गुरुङ, समाजसेवी रूपलाल चौधरी तथा पलट चौधरीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले महिला खेलकुदको विकासका लागि यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।



