कलैया । कलैया उपमहानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन ३५ दिने सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै अतिक्रमण गरिएका संरचना स्वेच्छाले हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन तथा नेपाल सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत कार्ययोजनाअनुसार उपमहानगरपालिकाभित्र रहेका सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापन आवश्यक देखिएकाले यस्तो कदम चालिएको जनाइएको छ।




सूचनाअनुसार सडक, खोला, नाला, ऐलानी, पर्ती, पार्क, विद्यालय, सार्वजनिक पोखरी, धार्मिक स्थल, बजार क्षेत्र लगायतका सार्वजनिक जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका घर, टहरा, घेरा वा अन्य संरचना ३५ दिनभित्र हटाउनुपर्नेछ। तोकिएको समयभित्र अतिक्रमण नहटाए कानुनी प्रक्रिया अघि बढाइने संकेत गरिएको छ।
उपमहानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न तथा जोखिमपूर्ण स्थानमा बसोबास नगर्न पनि आम नागरिकलाई अनुरोध गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहद्वारा हस्ताक्षरित उक्त सूचनाले कलैया क्षेत्रमा सार्वजनिक जग्गा व्यवस्थापनमा कडाइ गरिने संकेत दिएको छ। 




