नवीन चौधरी, कोल्हबी । महिलाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै कोल्हबीमा पाठेघरमुख तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण तथा परामर्श शिविर आयोजना गरिने भएको छ।
ब्लड डोनर्स एसोसिएसन नेपाल, बारा जिल्ला शाखा र तामागढी हस्पिटल प्रा.लि.को आयोजनामा सञ्चालन हुने उक्त शिविर २०८३ साल बैशाख १६ गते शनिबार हुने तय गरिएको छ। शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म अस्पतालको प्राङ्गणमा सञ्चालन हुनेछ।
महिलाहरूमा प्रायः लुकाइने र ढिलो पहिचान हुने पाठेघरमुख तथा स्तन क्यान्सर जस्ता गम्भीर रोगहरू समयमै पत्ता लगाएमा पूर्ण रूपमा निको पार्न सकिने भएकाले शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ। शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट निःशुल्क जाँच तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिनेछ।




आयोजकले इच्छुक महिलाहरूलाई समयमै उपस्थित भई सेवा लिन आग्रह गरेको छ भने स्थानीय समुदायलाई समेत सूचना प्रवाह गरी शिविर सफल बनाउन सहयोग गर्न अपिल गरिएको छ।
यस प्रकारका कार्यक्रमहरूले ग्रामीण तथा शहरी क्षेत्रका महिलाहरूमा स्वास्थ्य सचेतना वृद्धि गर्नुका साथै प्रारम्भिक चरणमै रोग पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।



