काभ्रे । बीपी राजमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूको उद्धार कार्य तीव्र रूपमा भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म ४३१ जना यात्रुहरूको सुरक्षित उद्धार गरिएको छ भने करिब १५० जना यात्रु अझै उद्धार प्रक्रियामा रहेका छन्।

काभ्रे प्रहरीका अनुसार आज बिहानदेखि नै वैकल्पिक मार्ग प्रयोग गरी यात्रुहरूलाई सुरक्षित स्थानतर्फ लैजाने काम भइरहेको छ। तेमाल हुँदै धुलिखेलतर्फ वैकल्पिक बाटो प्रयोग गरेर उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रबिन विष्टले जानकारी दिएका छन्।
प्रहरी, स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरूको समन्वयमा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। अवरुद्ध सडकका कारण यात्रुहरू लामो समयसम्म अलपत्र परे पनि अहिले अवस्था क्रमशः सामान्यतर्फ फर्किंदै गएको प्रहरीको भनाइ छ।


