स्याङ्जा । स्याङ्जामा शुक्रबार साँझ परेको चट्याङका कारण एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् भने एउटा कुखुरा फार्ममा ठूलो क्षति पुगेको छ।
जिल्लाको बिरुवा गाउँपालिका–२ श्रीडाँडाका २० वर्षीय मिलन विक चट्याङ लागेर गम्भीर घाइते भएका थिए। घरमै बसिरहेको अवस्थामा चट्याङको झट्का लागेका उनलाई उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार लगिएको थियो। उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, हरिनास गाउँपालिका–४ सारुथरका ५८ वर्षीय खिमबहादुर थापा पनि चट्याङ लागेर घाइते भएका थिए। उनको सेतीगंगा अस्पताल तनहुँमा उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
चट्याङकै कारण सारुथरस्थित तेजबहादुर थापाको कुखुरा फार्म मा समेत ठूलो क्षति पुगेको छ। प्रहरीका अनुसार फार्ममा रहेका साना–ठूला गरी करिब ५ सय ५० वटा कुखुरा मरेका छन् भने फार्म पूर्णरूपमा नष्ट भएको छ। घाइते थापा फार्मबाट करिब ३ सय मिटर टाढा रहेका बेला चट्याङको असर परेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरी का अनुसार अविरल वर्षासँगै परेको चट्याङले मानविय तथा आर्थिक दुवै क्षति पुर्याएको हो। घटनापछि प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।


