वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाबाट असन्तुष्ट बनेका वीरगञ्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्।
पर्साको बहुदरमाई नगरपालिका–५ मधुवनी स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ।




परिवारका सदस्यहरूका अनुसार सोमबार एसईईको नतिजा सार्वजनिक भएपछि शन्नी निकै निराश र तनावमा देखिएका थिए। उनी वीरगञ्जस्थित पिपराको नरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी थिए। नतिजा अपेक्षाअनुसार नआएपछि उनी चिन्तित बनेको परिवारको भनाइ छ।
पारिवारिक स्रोतका अनुसार राति करिब ११:३० बजेतिर परिवारले उनलाई सम्झाइबुझाइ गरिरहेको थियो। तर अचानक उनी दौडिँदै आफ्नो कोठाभित्र छिरेर ढोका बन्द गरेका थिए।
‘हामीले धेरै सम्झाउने प्रयास गरिरहेका थियौँ, तर उनी एक्कासि कोठामा गएर ढोका लगाइदिए,’ परिवारका एक सदस्यले भने, ‘फलामको ढोका भएकाले खोल्न केही समय लाग्यो। ढोका खोलेर हेर्दा उनले तन्नाको पासो लगाइसकेका थिए।’
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
एसईई नतिजापछि विद्यार्थीहरूमा मानसिक दबाब बढ्ने र कतिपय अवस्थामा दुःखद घटना हुने गरेको भन्दै शिक्षाविद् तथा मनोपरामर्शदाताहरूले अभिभावकलाई बालबालिकामाथि अनावश्यक दबाब नदिन आग्रह गर्दै आएका छन्। उनीहरूका अनुसार परीक्षाको नतिजा जीवनको अन्तिम निर्णय नभएकाले असफलता वा अपेक्षाअनुसार परिणाम नआउँदा परिवार र समाजबाट सकारात्मक साथ आवश्यक हुन्छ।






