रौतहट । रौतहटका छुट्टाछुट्टै स्थानमा सोमबार राति भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन्।
जिल्लाको परोहा नगरपालिका–६ कोप्वास्थित सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ।




बीआर ०५ एएच २८७७ नम्बरको मोटरसाइकल र बा८१प ६४४८ नम्बरको मोटरसाइकल ठोक्किँदा परोहा नगरपालिका–३ तेजापाकड निवासी २२ वर्षीय सुरेन्द्र पासवान गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उक्त दुर्घटनामा बा ८१ प ६४४८ नम्बरको मोटरसाइकलमा सवार अन्य दुई जना पनि घाइते भएका छन्। एक जनाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने अर्का एक जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।
यस्तै, कटहरिया नगरपालिका–४ बहादुरपुर टोलमा अर्को मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको म.प्र.०२–०३–११प ३५०८ नम्बरको मोटरसाइकलबाट लडेर फतुवा विजयपुर नगरपालिका–५ गमहरियाकी ३८ वर्षीया रिंकुदेवी ठाकुर गम्भीर घाइते भएकी थिइन्।
उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






