कलैया । प्रादेशिक अस्पताल कलैयामा छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीहरूले पाँच महिनादेखि तलब नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
लामो समयदेखि निरन्तर सेवा दिँदै आए पनि तलब नपाउँदा दैनिक जीवनयापनमा समस्या परेको उनीहरूको भनाइ छ । पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको उनीहरूले गुनासो गरेका छन् ।




स्वास्थ्यकर्मीहरूले अब तलब तत्काल खातामा नआए अस्पतालमा प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरूले सरकार तथा सम्बन्धित निकायलाई छिटो समस्या समाधान गर्न आग्रह समेत गरेका छन् ।
तलब नपाएको कारण अस्पतालको सेवा प्रभावित हुने सम्भावना देखिएको छ भने बिरामीहरू समेत प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ ।



