कलैया । बाराको कलैयामा उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने व्यवसायीमाथि संयुक्त बजार अनुगमन टोलीले कडा कारबाही अघि बढाएको छ । छड्के बजार अनुगमनका क्रममा दुई मिठाई पसललाई नगद जरिवाना गरिनुका साथै म्याद गुज्रिएका र गुणस्तरहीन खाद्य सामग्री स्थलमै नष्ट गरिएको छ ।
संयुक्त बजार अनुगमन समितिको टोलीले कलैयाका विभिन्न ७ वटा पसलमा आकस्मिक अनुगमन गर्दा उपभोक्तालाई अस्वस्थकर तथा गुणस्तरहीन खाद्य सामग्री बिक्री भइरहेको तथ्य फेला परेको हो ।




अनुगमनका क्रममा कलैया उपमहानगरपालिका–६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्विट्स एन्ड बेकरी मा गुणस्तरहीन मोमो, हाइड्रो तथा बिरयानी बनाउने सामग्री भेटिएको थियो । पसलमा अनिवार्य रूपमा राख्नुपर्ने मूल्य सूचीसमेत नराखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (घ) अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ।
त्यसैगरी, कलैया–५ स्थित केसर स्विट्स मा म्याद गुज्रिएको आइसक्रिम र मोमो बिक्रीका लागि राखिएको फेला परेपछि २० हजार रुपैयाँ जरिवाना गरिएको छ । उपभोक्ताको ज्यानमाथि खेलबाड गर्दै सडेगलेका खाद्य सामग्री बेच्ने प्रयास भएपछि टोलीले कडा कारबाही गरेको जनाएको छ ।
यस्तै, कलैया–४ बरियारपुर रोडस्थित रोशन बाबु जेनेरल स्टोर मा म्याद नाघेको खाने तेल फेला परेपछि उक्त तेल पसल अगाडिनै नष्ट गरिएको थियो ।
अनुगमनका क्रममा कलैया–४ को एक मासु पसल र अदालत रोडस्थित सत्या होटल लाई आवश्यक कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय बारामा उपस्थित हुन निर्देशन दिइएको छ । दुर्गा खाजा घर मा नापतौलसम्बन्धी अनुमति पत्र नभेटिएपछि तीन दिनभित्र वीरगञ्जस्थित नापतौल कार्यालयमा उपस्थित हुन भनिएको छ भने नवल सेकुवा मा मूल्य सूची नराखिएको पाइएपछि चेतावनी दिइएको छ ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय बारा, जिल्ला प्रशासन कार्यालय बारा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी म्याद गुज्रिएका र गुणस्तरहीन खाद्य बिक्री गर्ने व्यवसायीमाथि आगामी दिनमा अझ कडा कारबाही गरिने चेतावनी दिएको छ।



