काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था संशोधन गरिने बताएका छन्।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सहजता दिन हालको सीमा बढाउने तयारी भइरहेको उनले जानकारी दिए।




मंगलबार अर्थ समितिमा भएको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले १०० रुपैयाँको सीमा वर्तमान सरकारले लागू नगरेको स्पष्ट पारे। उनका अनुसार, थोरै मूल्यका सामान ल्याउँदा समेत भन्सार तिर्नुपर्ने बाध्यताले सीमावर्ती नागरिकले सास्ती भोग्दै आएका छन्।
‘यो नियम हाम्रो सरकारले बनाएको होइन,’ उनले भने, ‘सर्वसाधारणलाई सहज हुने गरी सीमा पुनरावलोकन गर्छौं। तर राजस्व छल्ने उद्देश्यले हुने तस्करीप्रति सरकार कडा रूपमा प्रस्तुत हुन्छ।’
अर्थमन्त्री वाग्लेले घरायसी प्रयोजनको बहानामा दैनिक पटक–पटक सीमा पार गरेर सामान ल्याउने गतिविधिमाथि निगरानी र कडाइ गरिने पनि बताए।






