काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ।
सोमबार प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा मन्त्री पदमा रहँदै आफ्नै विषयमा अनुसन्धान हुनु स्वार्थको द्वन्द्व हुने उल्लेख गर्दै निष्पक्ष न्यायका लागि पदत्याग आवश्यक रहेको बताइएको छ।

मुभमेन्टले विवादास्पद व्यापारी दीपक भट्टसँगको सम्भावित साझेदारी र सम्पत्ति विवरणमा सेयर नदेखाएको विषयले गुरुङमाथि प्रश्न उठेको जनाएको छ। यस्तो अवस्थामा उनी पदमै रहँदा अनुसन्धान प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।
त्यस्तै, मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का राजनीतिक खेल नबनाउन आग्रह गर्दै नेतृत्वले जिम्मेवारी, पारदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा जोड दिइएको छ।
