काठमाडौँ — पावन जानकी जयन्तीको अवसरमा आम महिला मोर्चा, काठमाडौँ उपत्यका समितिद्वारा आम जनता पार्टीको केन्द्रीय कार्यालय, कोटेश्वरमा आयोजित विशेष समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको विशेष उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै अध्यक्ष साहले माता सीताप्रति उच्च श्रद्धा व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरे। उनले माता सीताको जीवनलाई प्रेम, त्याग, समर्पण र संघर्षको अनुपम प्रतीकका रूपमा उल्लेख गर्दै उहाँको आदर्श धार्मिक सीमाभन्दा माथि उठेर सामाजिक रूपान्तरणको शक्तिशाली प्रेरणाको स्रोत बनेको बताए।

“माता सीताले देखाउनुभएको सहनशीलता, निष्ठा, आत्मसम्मान र दृढताले आजको समाजलाई लैङ्गिक समानता, सामाजिक न्याय तथा सभ्य र समतामूलक संस्कृतिको निर्माणतर्फ अघि बढ्न स्पष्ट मार्गनिर्देशन गर्छ,” उनले भने।
अध्यक्ष साहले नेपालको गौरव तथा राष्ट्रिय विभूति माता सीताको जन्मोत्सवलाई राज्यले औपचारिक मान्यता दिँदै सरकारी क्यालेन्डरमा समावेश गर्न र सार्वजनिक बिदासहित राष्ट्रिय पर्वका रूपमा मनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराए।
कार्यक्रममा महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण तथा सामाजिक रूपान्तरणका विषयमा विभिन्न वक्ताहरूले आ–आफ्ना धारणा राख्दै माता सीताको आदर्शलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याएका थिए।


