काठमाडौं । बहुप्रतीक्षित काठमाण्डु–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) समयमै सम्पन्न नहुने देखिएपछि सरकारले वैकल्पिक रूपमा दुई लेनको सडकमार्फत छिटो सञ्चालनमा ल्याउने तयारी थालेको छ।
राष्ट्रिय योजना आयोगले चार लेन एकैपटक पूरा गर्न ढिलाइ हुने निष्कर्ष निकाल्दै प्रारम्भिक चरणमै दुई लेन निर्माण गरेर यातायात सञ्चालन गर्ने प्रस्ताव अघि बढाएको हो। सो प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै नेपाली सेनासम्म पुग्ने तयारीमा छ।

आयोगका अनुसार आयोजना ढिलाइ भइरहँदा नागरिकले अपेक्षित सुविधा पाउन सकेका छैनन्। त्यसैले न्यूनतम संरचना बनाएर तत्काल प्रयोगमा ल्याउने विकल्प उपयुक्त देखिएको हो। यस्तो दुई लेन सडक २०८४ सम्म तयार हुन सक्ने अनुमान गरिएको छ।
हाल द्रुतमार्गको भौतिक प्रगति करिब ४५.८६ प्रतिशत मात्र रहेको नेपाली सेनाले जनाएको छ। खोकना–डुकुछाप खण्डमा स्थानीय अवरोध र जग्गा अधिग्रहण विवादका कारण निर्माण कार्य अझै प्रभावित छ।
२०७४ सालमा सेनालाई जिम्मा दिइएको यो आयोजना पटक–पटक म्याद थप हुँदै २०८३ चैतसम्म पुगेको छ। तर बाँकी कामको अवस्थालाई हेर्दा निर्धारित समयमा सम्पन्न हुने सम्भावना कमजोर देखिएको छ।
यसैबीच, बाहिरी चक्रपथसँग जोड्ने डिजाइनअनुसार योजना अघि बढे पनि बाहिरी चक्रपथको काम नै नहुँदा थप चुनौती देखिएको छ।
सेनाले भने परियोजनाको समयावधि २०८६ सम्म विस्तार गर्न आवश्यक रहेको भन्दै सम्बन्धित मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिरहेको स्रोतले जनाएको छ।


