काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा ले देशको मौसम हाल बहुआयामिक प्रणालीको प्रभावमा रहेको जनाएको छ। पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी क्षेत्रमा सक्रिय न्यून चापीय अवस्थाले मौसम अस्थिर बनेको हो।
अहिले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भूभागमा व्यापक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेश का केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।



दिउँसोका लागि पहाड र हिमाल क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा उच्च क्षेत्रमा हिमपातको सम्भावना छ। मधेस प्रदेश र कोशीको तराईमा पनि छिटफुट वर्षा हुन सक्नेछ।
राति मौसम अझ सक्रिय भई कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा पनि समान अवस्था रहनेछ।
लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।



