बारा । कलैया उपमहानगरपालिकाका नगरप्रहरीले एक व्यापारीमाथि गरेको कथित दुर्व्यवहार सम्बन्धी विवाद अन्ततः आपसी समझदारीमा टुंगिएको छ।
घटनापछि उत्पन्न तनावलाई सम्बोधन गर्दै नगरप्रमुख विनोद साहसहित सम्बन्धित नगरप्रहरीहरूले सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्।

नगरप्रमुख साहले नगरप्रहरीको व्यवहारमा त्रुटि भएको स्वीकार गर्दै पीडित परिवारसँग क्षमा याचना गरेका हुन्। उनले नगरप्रहरीलाई अझ अनुशासित, जिम्मेवार र सेवामुखी बनाउन विशेष सुधारात्मक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
यसै क्रममा घटनामा संलग्न नगरप्रहरीका किरण साह, मुकेश पटेल र विजय यादवले पनि आफ्नो व्यवहारप्रति आत्मालोचना गर्दै सार्वजनिक रूपमा माफी मागेका छन्। उनीहरूले आगामी दिनमा सेवाग्राहीप्रति अझ संवेदनशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दुवै पक्षबीच भएको संवादपछि वातावरण सहज बनेको छ। पीडित पक्षले पनि नगरप्रमुखले स्वयं अग्रसर भएर माफी मागेपछि विवादलाई थप अघि नबढाउने र मिलापत्रमा जाने निर्णय गरेको जनाएको छ।
स्थानीयस्तरमा यो घटनालाई विवादपछि गरिएको सकारात्मक आत्मसुधारको उदाहरणका रूपमा हेरिएको छ। यसले भविष्यमा जनप्रतिनिधि र नगर सुरक्षाकर्मीबीच थप उत्तरदायित्व र विश्वास बढ्ने अपेक्षा गरिएको छ।


