कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला समितिले कोल्हबी नगरपालिकाको नेतृत्वबारे सामाजिक सञ्जालमा फैलाइएको सूचनालाई अनाधिकृत, भ्रामक र प्रायोजित भन्दै कडा चेतावनी जारी गरेको छ।
पार्टीले आधिकारिक नेतृत्वलाई चुनौती दिने गतिविधिलाई संगठनविरुद्धको कामको संज्ञा दिँदै संलग्न व्यक्तिमाथि कारबाही गरिने स्पष्ट पारेको छ।
शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा कोल्हबी नगरपालिकाको आधिकारिक संयोजक सारजङ्ग थापा (उत्तम थापा) नै रहेको दोहोर्याइएको छ। नगर भेला सम्पन्न नहुञ्जेलसम्म पार्टीका सम्पूर्ण सांगठनिक गतिविधि उनकै नेतृत्वमा मात्रै मान्य हुने पार्टीले स्पष्ट पारेको छ।


जिल्ला समितिले केही व्यक्तिले सामाजिक सञ्जालमा नयाँ संयोजक तोकिएको भन्दै प्रचारबाजी गरेको उल्लेख गर्दै त्यसलाई संगठनलाई अस्थिर बनाउने नियोजित प्रयास भनेको छ। विज्ञप्तिमा यस्ता भ्रामक सूचना फैलाएर पार्टीभित्र समानान्तर संरचना खडा गर्न खोजिएको आरोप लगाइएको छ।
पार्टीले विधानविपरीत गतिविधि गर्ने, भ्रम फैलाउने र संगठनको आधिकारिक निर्णयविरुद्ध जाने व्यक्तिहरूलाई अब नछाडिने संकेत दिएको छ। विज्ञप्तिमा त्यस्ता व्यक्तिमाथि संगठनात्मक र अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख छ।
त्यससँगै, कोल्हबी नगरभित्र पार्टीसँग सम्बन्धित कुनै पनि कार्यक्रम वा गतिविधि सञ्चालन गर्दा आधिकारिक संयोजक सारजङ्ग थापासँग अनिवार्य समन्वय गर्नुपर्ने निर्देशन दिइएको छ। यसबाट पार्टीले समानान्तर गतिविधिलाई पूर्ण रूपमा अस्वीकार गरेको स्पष्ट देखिन्छ।
रास्वपा बारा जिल्ला समितिको यो विज्ञप्तिले कोल्हबीमा पार्टीभित्र नेतृत्व विवाद चर्किएको संकेत दिएको छ।
सामाजिक सञ्जालमार्फत फैलिएको नेतृत्वसम्बन्धी विवादले संगठनभित्र गुटबन्दी मौलाएको अनुमान गरिएको छ।
जिल्ला समितिको कडा चेतावनीपछि अब भ्रामक सूचना फैलाउने पक्षमाथि के कारबाही हुन्छ भन्ने चासो बढेको छ। रास्वपाले सार्वजनिक रूपमा नै ‘आधिकारिक नेतृत्वविरुद्ध चलखेल सह्य नहुने’ सन्देश दिएको छ, जसले कोल्हबीको आन्तरिक राजनीति थप तातेको देखिएको छ।
के थियो कारण यो पनि पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोल्हवी नगरपालिकामा वडा तहसम्म संगठन विस्तार गर्ने उद्देश्यसहित तदर्थ समिति गठन गरेको छ।
बारा क्षेत्र नं. १ का सांसद गणेश धिमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थानेश्वर पाहाडीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
समितिको सह–संयोजकमा जितन चौधरी चयन भएका छन् भने सदस्यहरूमा मनोज चौधरी, भरत रुम्बा, शरीफ राय भाट, मुकेश मुखिया बिन, सुनिता चौधरी, नन्दु चौधरी र देवकी राम रहेका छन्।
पार्टीको केन्द्रीय निर्देशनअनुसार नवगठित तदर्थ समितिले अब कोल्हवी नगरपालिकाका सबै वडामा वडा समिति गठन गर्नेछ। वडा समितिहरू गठन भएपछि तिनै समितिमार्फत नगर समिति चयन गरिने जनाइएको छ।
समितिलाई जेठ मसान्तसम्मको समयसीमा दिइएको छ। उक्त अवधिभित्र वडा तहसम्म संगठन विस्तारको काम पूरा गर्न नसके असार १ गतेदेखि तदर्थ समिति स्वतः खारेज हुने निर्णय गरिएको छ।
कोल्हवी–२ स्थित तराई मिस्टिक होटलमा सम्पन्न कार्यक्रममा जगदेव चौधरी, अशोक महर्जन, किरण चौधरी, उज्ज्वल चौधरी, मिलन जी.आर. लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन जितन चौधरीले गरेका थिए।
रास्वपाले कोल्हवीमा संगठनलाई वडा तहसम्म विस्तार गर्न समयसीमा सहित तदर्थ समिति गठन गरेको हो।


