काठमाडौँ । पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण आइतबार देशका विभिन्न भागमा बदली रही केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ। रातिको समयमा देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने र विशेषगरी लुम्बिनी तथा सुदूरपश्चिमका तराई, उपत्यका तथा खोँच क्षेत्रमा गर्मी बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


