बारा । नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले आइतबार गण्डक नहरको डिलमा अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाहरू हटाउने अभियान सुरु गरेको छ।
कार्यालयले एक्साभेटर प्रयोग गरी नहरको क्षेत्रभित्र अवैध रूपमा बनाइएका संरचना भत्काउन थालेको हो। उक्त कारबाही नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायको समन्वयमा गरिएको बताइएको छ।

नहरको नियमित मर्मत तथा पानी प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले अतिक्रमण हटाउने कार्य अघि बढाइएको नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले जनाएको छ।
स्थानीय प्रशासनले यसअघि पटक–पटक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन आग्रह गरे पनि अटेर भएपछि अन्ततः डोजर परिचालन गरेर कारबाही गरिएको हो।
कार्यालयले नहर क्षेत्र संरक्षणका लागि आगामी दिनमा पनि यस्ता अवैध संरचना हटाउने अभियान निरन्तर रहने जनाएको छ।


