नवीन चौधरी,कोल्हवी । कोल्हवी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको सहकारी तथा कोपोमिस (COPOMIS) सम्बन्धी ७ दिने निःशुल्क तालिम सम्पन्न भएको छ। नगरभित्र सञ्चालित विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा सञ्चालन गरिएको तालिमको समापन कार्यक्रम सम्पन्न गरिएको हो।
समापन कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने उपप्रमुख लक्ष्मी कुमारी चौधरी कार्यक्रमको सभापतित्व गर्नुभएको थियो।




कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष विष्णु प्रसाद मैनाली, वडा नं. ३ का वडा अध्यक्ष किसुनदयाल चौधरी, वडा नं. ५ का वडा अध्यक्ष नन्द किशोर चौधरी, कार्यपालिका सदस्यहरू, सहकारी विभागका कर्मचारी पप्पु यादव तथा तालिम प्रशिक्षक एवं योजना तथा प्रशासन शाखा प्रमुख संजय मैनाली लगायतको उपस्थिति रहेको थियो।
सात दिनसम्म सञ्चालन भएको तालिममा सहकारी संस्थाको व्यवस्थापन, अभिलेख प्रणाली, वित्तीय अनुशासन, सदस्य व्यवस्थापन तथा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) को प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिइएको थियो।
समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट अटुट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिसुनदयाल चौधरी तथा साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रतिनिधि चन्द्र कार्की भण्डारी ले तालिम अवधिभर सिकेका विषयवस्तु तथा प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी तथा प्रविधिमैत्री बनाउन कोपोमिस प्रणालीको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका थिए। उनीहरूले तालिमबाट प्राप्त ज्ञानले सहकारी संस्थाको सेवा प्रवाह तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
तालिम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजक कोल्हवी नगरपालिकाले आगामी दिनमा पनि सहकारी क्षेत्रको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






