बिजयपुर । रौतहटको बौधिमाई नगरपालिका–८ स्थित श्री शंकर माध्यमिक विद्यालय सरमुजवाका शिक्षक रामबाबु यादवमाथि भएको कुटपिट घटनाप्रति जिल्लाका विभिन्न शिक्षक संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
संगठनहरूले घटनाको भर्त्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरेका छन्।




शिक्षक संगठनहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा गत वैशाख २९ गते विद्यालय परिसरमै शिक्षक यादवमाथि हातपात तथा ज्यान मार्ने प्रयास भएको उल्लेख गरिएको छ।
घटनाले शिक्षकहरूमा भय र असुरक्षाको भावना बढाएको भन्दै संगठनहरूले शैक्षिक वातावरण नै प्रभावित हुने चेतावनी दिएका छन्।
विज्ञप्तिमा शिक्षकमाथिको आक्रमणलाई केवल व्यक्तिगत घटना नभई सम्पूर्ण शिक्षा क्षेत्रमाथिको चुनौतीको रूपमा व्याख्या गरिएको छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई शिक्षा प्राप्त गर्ने हक सुनिश्चित गरेकाले शिक्षकलाई सुरक्षित वातावरणमा अध्यापन गर्ने अवस्था सिर्जना गर्नु राज्यको दायित्व भएको शिक्षक नेताहरूको भनाइ छ।
संगठनहरूले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी निष्पक्ष छानबिनसहित शीघ्र कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, जेठ ५ गतेभित्र दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाइए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएका छन्।
संयुक्त विज्ञप्तिमा नेपाल शिक्षक संघ रौतहट, नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहट, प्रगतिशील राष्ट्रिय शिक्षक संगठन (ANTO) रौतहट, एकीकृत अखिल शिक्षक संगठन (ANTO) रौतहट तथा नेपाल शिक्षक मञ्च रौतहटका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ । 






