कलैया, बारा । सर्लाहीको गोडैता नगरपालिका–६ बग्दहस्थित चिनिमिल नजिक हुलाकी सडक खण्डको छेउमा एक अज्ञात पुरुषको सडेगलेको शव फेला परेको छ। शव बेवारिसे अवस्थामा भेटिएपछि स्थानीय क्षेत्रमा केहीबेर त्रास र कौतुहलता फैलिएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ करिब ४:३० बजे स्थानीयवासीले सडक छेउमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट प्रहरी सहायक हवल्दार होरिल राय यादवको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।




प्रहरीका अनुसार मृतक करिब ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको अनुमान गरिएको छ। शव धेरै दिनअघिदेखि त्यहाँ रहेको जस्तो देखिने गरी सडेगलेको अवस्थामा फेला परेको जनाइएको छ।
हालसम्म मृतकको पहिचान खुल्न नसकेको र नाम, थर तथा ठेगाना अज्ञात रहेकाले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। शवको पहिचान र मृत्युको कारण खुलाउन थप प्रक्रिया अगाडि बढाइएको बताइएको छ।



