वीरगञ्ज । पर्सा जिल्लाको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा तरंग पैदा गर्ने गरी जिल्ला समन्वय समिति पर्साका बहालवाला सभापति निरञ्जन प्रसाद सोनार (अजय) सहित एकै परिवारका पाँच जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। अदालतले पक्राउ आदेश जारी गरेको चार दिन बितिसक्दा समेत अभियुक्तहरू पक्राउ नपरेपछि कानुनी कार्यान्वयनमाथि प्रश्न उठ्न थालेको छ।
पर्सा जिल्ला अदालतले मिति २०८३ साल वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय पर्साका नाममा पक्राउ अनुमति जारी गर्दै निरञ्जन प्रसाद सोनारसँगै त्रिलोकी साह सोनार, सन्तोष उर्फ सुमु प्रसाद सोनार, उत्तम उर्फ दिवस सराफ र महेश उर्फ महेश्वर सराफ लाई तत्काल नियन्त्रणमा लिन आदेश दिएको हो।

रामबाबु साह सोनार को जाहेरीका आधारमा दर्ता भएको ‘ज्यान मार्ने उद्योग’ मुद्दामा प्रारम्भिक अनुसन्धानबाट अभियुक्तहरूको संलग्नता देखिएको भन्दै अदालतले पक्राउ अनुमति दिएको जनाएको छ। अदालतको आदेशमा अभियुक्तहरूलाई तत्काल पक्राउ नगरे प्रमाण नष्ट हुन सक्ने र फरार हुने सम्भावना रहेको उल्लेख गरिएको छ।
तर अदालतको आदेश जारी भइसके पनि सम्बन्धित व्यक्तिहरू खुला रूपमा सहरमै हिँडडुल गरिरहेको आरोप पीडित पक्षले लगाएको छ। पीडित पक्षका अनुसार पक्राउ आदेश कार्यान्वयनमा भइरहेको ढिलाइले न्यायिक प्रक्रियामाथि नै आशंका पैदा गरेको छ।
उता जिल्ला प्रहरी कार्यालय पर्सा ले भने अभियुक्तहरूको खोजतलास जारी रहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। प्रहरीको यो भनाइ आए पनि अदालतको आदेश कार्यान्वयनमा ढिलाइ हुनु गम्भीर विषय भएको भन्दै स्थानीय स्तरमा व्यापक चासो र बहस सुरु भएको छ।
यस घटनाले पर्सामा कानुनी शासनको प्रभावकारिता, प्रशासनिक निष्पक्षता र सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ। राजनीतिक पहुँच भएका व्यक्तिविरुद्ध कानुन कार्यान्वयनमा ढिलाइ हुनु न्याय प्रणालीकै विश्वसनीयतामाथि चुनौती भएको स्थानीयहरूको भनाइ छ।


