काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योगी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा सशरीर उपस्थित गराउन आदेश दिएको छ।
सीआईबीले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको कार्य गैरकानुनी भएको दाबी गर्दै उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।


न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गोल्छालाई हिरासतमा राख्नुको कारणसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ।
गत बिहीबार सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। यसअघि जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको भए पनि सर्वोच्चको आदेशपछि मुद्दाले नयाँ मोड लिएको छ।
उद्योगी गोल्छाको पक्राउ र सर्वोच्चको आदेशपछि निजी क्षेत्रभित्र यो घटनाप्रति चासो बढेको छ।


