कलैया । सिम्रौनगढ नगरपालिकाले गुठीको जग्गामा अनाधिकृत रूपमा निर्माण गरिएका घर–टहरा हटाउन ३५ दिनको समयसीमा दिएको छ।
नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र संरचना खाली नगरे डोजर प्रयोग गरेर हटाइने तथा त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने जनाएको हो।


नगरपालिकाका अनुसार गुठी संस्थान शाखा कार्यालय वीरगंजबाट प्राप्त पत्रका आधारमा सिम्रौनगढ नगरपालिका वडा नं. ९ मा रहेको श्री कंकाली माई मन्दिर गुठीको नाममा दर्ता रहेको बैल बजार (बैलघटी) क्षेत्रको जग्गामा विभिन्न व्यक्तिले अनाधिकृत रूपमा घर–टहरा निर्माण गरी अतिक्रमण गरेको पाइएको हो।
सूचनाअनुसार वडा नं. ९ अन्तर्गत कित्ता नं. १ र ४, क्षेत्रफल क्रमशः ०–१२–१० र ०–१५–० रहेको गुठीको जग्गामा बनेका संरचना ३५ दिनभित्र स्वयं हटाउन नगरपालिकाले आग्रह गरेको छ।
नगरपालिकाले तोकिएको समयसीमाभित्र अतिक्रमित संरचना खाली नगरिए नियमअनुसार आफ्नै डोजर प्रयोग गरेर संरचना हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर साहले सार्वजनिक हित तथा गुठीको जग्गा संरक्षणका लागि यस्तो निर्णय गरिएको जनाउँदै सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेका छन्।
यस कदमलाई नगरपालिकाले गुठीको सम्पत्ति संरक्षण तथा सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रण गर्ने अभियानको हिस्सा भएको जनाएको छ।


