सिरहा । हुलाकी राजमार्गअन्तर्गत औरही गाउँपालिका–४ स्थित सहजा खोलामा वर्षौँदेखि अलपत्र रहेको पुलले स्थानीयवासीमा नयाँ आक्रोश निम्त्याएको छ। सोमबार बिहान स्थानीयवासीले पुलकै अगाडि प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका छन्। उनीहरूले पुल तत्काल निर्माण नगरेको खण्डमा आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।
स्थानीयवासीका अनुसार पुल निर्माणमा लगातार लापरवाहीका कारण दैनिकजसो दुर्घटना भइरहेका छन्। उनका अनुसार, हालसम्म दर्जनौँले ज्यान गुमाइसकेका छन् भने ५० भन्दा बढी घाइते वा अपांग बनेका छन्। सडकमा अवस्थित डाइभर्सनमार्फत सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम झन् बढेको छ।
प्रदर्शनका क्रममा स्थानीयले प्रशासन, प्रहरी र निर्माण ठेकेदारको विरोधमा जोरदार नाराबाजी गरेका थिए। आन्दोलनपछि जिल्ला प्रशासन, सुरक्षा निकाय, निर्माण कम्पनी र स्थानीय प्रतिनिधि बीच वार्ता भएको थियो। छलफलमा सहमति अनुसार, आजदेखि ३० दिनभित्र पुल निर्माण सम्पन्न गर्ने, भोलिदेखि डाइभर्सन निर्माण गरी ट्राफिक संकेत जडान गर्ने, दुर्घटनामा मृत्यु भएका घटनाको प्रशासनिक छानबिन अघि बढाउने र पुल सम्पन्न नहुँदासम्म राति १२ बजेसम्म अस्थायी प्रहरी ड्युटी राख्ने निर्णय भएको छ।
प्रदर्शनकारी दिपेन्द्र यादवले पुल विकासको प्रतीक हुनुपर्नेमा मृत्युको धराप बनेको बताए। “चार वर्ष बित्दा पनि काम नसकिँदा हामी हरेक दिन जोखिम मोलेर यात्रा गर्न बाध्य छौँ,” उनले भने। स्थानीय लक्ष्मीप्रसाद यादवका अनुसार वर्षायाममा खोलामा बाढी आउँदा आवतजावत पूर्ण रूपमा ठप्प हुन्छ, जसले बिरामी, विद्यार्थी र कामकाजी नागरिकलाई सबैभन्दा बढी असर गरेको छ।
सहजा खोलाको पुल र कल्भर्ट निर्माणको ठेक्का २०७९ माघ १५ गते करिब ११ करोड ५४ लाख रुपैयाँमा सुगम निर्माण सेवा प्रा.लि., महेन्द्रनगर (धनुषा) लाई दिइएको थियो। तर म्याद थप हुँदाहुँदै पनि हालसम्म काम प्रगति ३९ प्रतिशतमा सीमित छ। निर्माण कम्पनीले ४ करोड ४८ लाख रुपैयाँ भुक्तानी लिइसकेको भए पनि दरैयामा निर्माण गर्नुपर्ने बक्स कल्भर्टको काम सुरु भएको छैन।
हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार ठेकेदार हाल सम्पर्कविहीन छन्। “एक हप्ताभित्र काम सुरु नगरे ठेक्का तोड्ने तयारीमा छौँ,” उनले बताए। सिरहा खण्डमा हुलाकी सडकअन्तर्गत रहेका पाँच योजनामध्ये लगदीगढियानी सडक बाहेक अन्य योजना अझै अलपत्र छन्।
स्थानीयवासीले सहजा खोलाको पुलसहित सिरहा खण्डमा रोकिएका सबै पुल र कल्भर्ट तत्काल निर्माण गर्न माग गर्दै आएका छन्। सहमति कार्यान्वयन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी उनीहरूले दिएका छन्।