सिरहा । सिरहा कारागारभित्र विशेष अपरेसनका क्रममा हतियार बरामद भएपछि कारागार प्रशासन र सुरक्षा निकाय सतर्क बनेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली तथा अन्य प्रतिबन्धित सामग्री बरामद गरिएको छ। प्रहरीका अनुसार कैदीबन्दीहरूले कारागारभित्र अवैध गतिविधि सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा सोमबार बिहान कारबाही अघि बढाइएको हो। अनुगमन तथा खानतलासीका क्रममा हतियार लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि कारागारभित्रका नाइके इन्द्रजित यादवसहित १३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। नियन्त्रणमा परेकाहरू गम्भीर आपराधिक घटनामा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अपरेसनका बेला कारागारभित्रको अवस्था तनावग्रस्त बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो। सुरक्षा टोलीले कारागारलाई पूर्ण नियन्त्रणमा लिँदै स्थिति सामान्य बनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र कारागारभित्र सुरक्षा व्यवस्थापनलाई थप कडा बनाइने जनाएको छ। साथै, कारागारभित्र हतियार कसरी प्रवेश गर्यो भन्ने विषयमा समेत छानबिन भइरहेको प्रहरीको भनाइ छ।