उमजन । बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ उमजनमा आयोजित तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज हेटौंडा एकेडेमी र आयोजक नवजन प्रगति युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रतियोगिताको तेस्रो दिन सम्पन्न खेलमा जेजेवाइसी सिमराले अल्टोकी क्लब रौतहटलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्को चरणतर्फ बलियो कदम बढाएको थियो।




हिजोको खेलमा सिमराले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै रौतहटमाथि दबाब कायम राखेको थियो। आक्रामक खेल प्रस्तुत गरेको सिमराले तीन गोल गर्दै सहज जित हासिल गरेको हो। खेलभर प्रभावशाली प्रदर्शन गरेका जेजेवाइसी सिमराका खेलाडी बिक्रम थोकर म्यान अफ दि म्याच घोषित भएका थिए। उनलाई नगद १ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो।
म्यान अफ दि म्याच पुरस्कार करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव ले हस्तान्तरण गरेका थिए। प्रतियोगिताको तेस्रो दिनको खेल नवजन प्रगति युवा क्लबका उपाध्यक्ष मनिन्द्र चौधरी को सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, सदस्य शंकर थापा, करैयामाई गाउँपालिकाका स्वास्थ्य संयोजक जितेन्द्र पासवान, शिक्षा तथा खेलकुद संयोजक उमेश कुमार यादव तथा नवजन प्रगति युवा क्लबका अध्यक्ष रुपनारायण यादव लगायतको उपस्थिति रहेको थियो।
आज हुने खेलमा घरेलु टोली नवजन प्रगति युवा क्लब र हेटौंडा एकेडेमीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताप्रति स्थानीय दर्शकको उत्साह बढ्दो क्रममा रहेको छ भने मैदानमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ।
उद्घोषक जितेन्द्र प्रसाद चौधरीका अनुसार आजको खेल निर्धारित समयमै सञ्चालन हुनेछ। प्रतियोगिताले स्थानीय तथा राष्ट्रियस्तरका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।






