नवीन चौधरी, कोल्हबी । बाराको कोल्हबी नगरपालिका वडा नम्बर ५ ले अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सहायक सामग्री वितरण तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।
हिजो मंगलबार बाल तथा महिला सेवा केन्द्र महागढीमाई–१ को सहयोग तथा वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष नन्द किशोर चौधरी प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए।




कार्यक्रममा नगर उप–प्रमुख लक्ष्मी कुमारी चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित रहेकी थिइन्।
कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन विभिन्न प्रकारका सहायक सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ। वितरण गरिएका सामग्रीमा ५ वटा बैशाखी, २ वटा वाकर, १ वटा श्रवण यन्त्र, ४ वटा सेतो छडी, २ वटा कमोड कुर्सी, ४ वटा ह्यान्ड स्टिक तथा २ थान ह्वीलचेयर रहेका छन्।
वडा कार्यालयका सहायक कर्मचारी जितेन्द्र चौधरीका अनुसार कार्यक्रममार्फत आवश्यकताका आधारमा सामग्री छनोट गरी लक्षित व्यक्तिहरूलाई हस्तान्तरण गरिएको हो। साथै अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमसमेत सञ्चालन गरिएको उनले जानकारी दिए।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले अपांगता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा जोड्न स्थानीय तह प्रतिबद्ध रहेको बताए। उनले आगामी दिनमा यस्ता सामाजिक तथा मानवसेवासँग सम्बन्धित कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गरे।
उप–प्रमुख लक्ष्मी कुमारी चौधरीले अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार संवेदनशील रहेको बताउँदै उनीहरूको जीवनस्तर उकास्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखिन्।
स्थानीयवासी तथा सहभागीहरूले वडा कार्यालयले गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले सहायक सामग्री वितरणले दैनिक जीवनमा ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।






