नवीन चौधरी, कोल्हबी । बाराको करैयामाई गाउँपालिकाले स्थानीय सडकको क्षेत्राधिकार (Right of Way–ROW) र सेटब्याक मापदण्ड स्पष्ट गर्दै सडक क्षेत्रभित्र बनेका संरचना हटाउन कडाइ गर्ने भएको छ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मापदण्डभित्र पर्ने घरटहरा, गोठ तथा अन्य संरचना हटाउन आग्रह गरेको हो।




गाउँपालिकाले विभिन्न सडकको चौडाइ र सेटब्याकसम्बन्धी मापदण्ड निर्धारण गरेको जनाएको छ। जसअनुसार लौतन–सिसवा हुँदै बाराबजार जाने मुख्य सडक र मधुवनदेखि लौतन हुँदै गंजभवानीपुरसम्मको सडक को केन्द्रबिन्दुबाट २५ फिट ROW तथा ७ फिट सेटब्याक कायम गरिनेछ।
यस्तै नरही–सिसवा–तेतरीया–ढोढिया–पिपरा सडक, करैया–तेतरीया–सेढवा–सिहोर्वा–मधुवन हुँदै पसाह पुलसम्मको सडक तथा कलैया–गालोपट्टी–टोलापुर हुँदै सतुवा चोकसम्मको सडक मा केन्द्रबिन्दुबाट १८ फिट ROW र ५ फिट सेटब्याक कायम गरिएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी गाउँघरको बाटोमा केन्द्रबिन्दुबाट १० फिट, गाउँको गल्ली बाटोमा ६.६ फिट तथा कृषि बाटोमा पनि १० फिट क्षेत्राधिकार कायम गरिने उल्लेख गरिएको छ।
गाउँपालिकाका अनुसार संघ, प्रदेश र स्थानीय तहबाट निर्माण तथा स्तरोन्नति भइरहेका सडकलाई व्यवस्थित बनाउन तथा भविष्यमा सडक विस्तारमा समस्या नआओस् भन्ने उद्देश्यले यो मापदण्ड लागू गरिएको हो।
मापदण्डभित्र परेका घर, टहरा, नाद, गोठ, पराल तथा अन्य संरचना सम्बन्धित व्यक्तिले ३० दिनभित्र हटाउनुपर्ने सूचनामा उल्लेख छ।
तोकिएको समयभित्र संरचना नहटाए कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने गाउँपालिकाले चेतावनी दिएको छ। प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवद्वारा हस्ताक्षरित सूचनापछि करैयामाई क्षेत्रमा सडक अतिक्रमणबारे चासो बढेको छ। 






