कलैया । जीतपुरसिमरा उपमहानगरपालिका–१८ लामिडाँडाकी २८ वर्षीया फुलमाया हिमडुगको झुण्डिएको अवस्थामा भएको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ।
मृतकका आफन्तले स्थानीय धावा लामाको दबाब र व्यवहारका कारण फुलमायाले आत्महत्या गर्न बाध्य भएको आरोप लगाएका छन्।

परिवारका अनुसार मृतकको मोबाइल फोनमा धावा लामासँग भएका गोप्य कुराकानी तथा “उनीकै कारण म मर्न बाध्य भएँ” भन्ने आशयको अडियो रेकर्ड भेटिएको छ।
सोही प्रमाणका आधारमा घटनालाई आत्महत्या नभई दुरुत्साहनसहितको मृत्यु भएको दाबी गरिएको छ।
मृतकका छोराहरूले धावा लामा नियमित घर नजिकैको पसलमा आउने, आमालाई विभिन्न ठाउँमा लैजाने, कपडा किनिदिने तथा खानेकुरा दिएर कोठामा लैजाने गरेको बताएका छन्। यी विवरणले घटनालाई थप शंकास्पद बनाएको परिवारको भनाइ छ।
मृतककी सासु फुलमाया मोक्तानले दोषीलाई कडा कारबाही गर्न माग गर्दै “अब यो विषय यत्तिकै छोडिन्न” भन्ने प्रतिक्रिया दिएकी छन्। परिवारले आजै सिमरा प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दिने तयारी गरेको छ।
गत शुक्रबार मातातीर्थ औँशीका दिन नजिकैको जंगलमा फुलमाया झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। सुरुमा उनको मानसिक अवस्था कमजोर रहेको भनिए पनि मोबाइलबाट प्राप्त प्रमाणले घटनालाई शंकास्पद बनाएको छ।
आरोपित धावा लामा सवारी चालक रहेको र उनको पारिवारिक तथा सामाजिक व्यवहार पनि विवादित रहेको स्थानीयले बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाउने जनाएको छ।


