बारा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरेको विरोधमा नेपाल पत्रकार महासंघ बारा शाखाले आपत्ति जनाएको छ।
महासंघले उक्त निर्णयलाई विभेदकारी भन्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

महासंघ बारा शाखाका अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा गएको टोलीले निजी सञ्चारमाध्यमलाई बाहिर राख्दा उनीहरूको अस्तित्व नै संकटमा पर्ने जनाएको छ।
ज्ञापनपत्रमा निर्णय तत्काल सच्याउन माग गरिएको छ। महासंघका अनुसार सरकारी विज्ञापन सबै सञ्चारमाध्यममा समान रूपमा वितरण हुनुपर्ने हो, तर हालको निर्णयले प्रेस स्वतन्त्रता र प्रतिस्पर्धामाथि असर पार्ने देखिएको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश सदस्यहरू साजिर मन्सुर र अनिल गौरव, बारा शाखाकी महिला उपाध्यक्ष प्रियंका दास, सचिव पुष्पराज खतिवडा तथा वरिष्ठ पत्रकारहरू सत्यप्रकाश श्रेष्ठ र भोजराज भट्टराईलगायतको सहभागिता रहेको थियो।


