पर्सा । वीरगन्जमा लागू औषध कारोबारविरुद्ध प्रहरीले गरेको कारबाहीमा एक होटलबाट ठूलो परिमाणमा प्रतिबन्धित औषध बरामद भएको छ। प्रहरीले वीरगन्ज महानगरपालिका–८ लिंकरोडस्थित समर होटल एण्ड लजमा छापा मारेर भारतको बिहार राज्य भेलाही घर भएका २० वर्षीय सागर कुमार पटेललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उक्त होटलमा लागू औषध ओसारपसारमा संलग्न एक शंकास्पद व्यक्ति बसेको गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली खटाइएको थियो। त्यसक्रममा होटलको १०५ नम्बर कोठामा खानतलासी गर्दा पटेलको साथबाट प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट ३० हजार पिस अर्थात् ३ हजार पत्ता बरामद गरिएको हो।

ठूलो मात्रामा लागू औषध फेला परेपछि प्रहरीले पटेललाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
वीरगन्ज नाकालाई केन्द्र बनाएर पछिल्लो समय लागू औषध कारोबार बढ्दै गएको आशंकाका बीच यो बरामदगीलाई प्रहरीले महत्वपूर्ण सफलताका रूपमा लिएको छ।


