सिरहा । मधेश प्रदेशका विभिन्न जिल्लामा चुनावी माहोल तातिरहेका बेला कांग्रेस सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह आ–आफ्नो शैलीमा मतदाता भेटघाटमा व्यस्त छन्। प्रधानमन्त्री दाबेदारका रूपमा हेरिएका यी दुई नेताको मधेश केन्द्रित अभियानलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
पूर्व–पश्चिम लोकमार्ग हुँदै अघि बढेका थापा मंगलबार मोरङ र सुनसरीका कार्यक्रम सकेर सप्तरी आइपुगे। त्यहाँका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवार, कार्यकर्ता र स्थानीयसँग भेटघाट तथा सम्बोधन गरेपछि उनी अपराह्न लहान पुगे। कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवका अनुसार लहानको कार्यक्रमपछि थापा जिरोमाइल, गोलबजार र मिर्चैयामा संक्षिप्त भेटघाट गर्दै महोत्तरीको बर्दिवासतर्फ प्रस्थान गरेका छन्। बुधबारसम्म सर्लाही–४ पुग्ने कार्यतालिका छ।
लहानको पुरानो बजारमा आयोजित कार्यक्रममा थापाले कांग्रेस सबैलाई समेटेर देश सम्हाल्ने जिम्मेवारीसहित चुनावमा गएको बताए। उनले आन्दोलनका विषयलाई लिएर अतिवादी व्याख्या गर्नु गलत हुने धारणा राखे। कार्यक्रममा सहभागी हुनुअघि उनले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको प्रतिमामा माल्यार्पण पनि गरेका थिए।
उता रास्वपाका वरिष्ठ नेता बालेन शाह भने हुलाकी सडक केन्द्रित जनसम्पर्कमा छन्। बिहानै सुनसरी हुँदै सप्तरी प्रवेश गरेका उनले कञ्चनरुप, हनुमाननगर, राजविराज, डाकनेश्वरी, बोदेबर्साइन हुँदै सिरहाका विभिन्न स्थानमा समर्थकलाई अभिवादन गरे। मधेश प्रदेश सभापति तपेश्वर यादवका अनुसार बालेनले सुखीपुर, जिरोमाइल, गोलबजार, मिर्चैया, कल्याणपुर हुँदै कमला नदी पार गरेर धनुषा र महोत्तरीसम्म कार्यक्रम तय गरेका छन्।
प्रायः सबै ठाउँमा बालेनले घन्टी बजाएर अभिवादन गरे पनि औपचारिक सम्बोधन भने गरेका छैनन्। मंगलबार मात्रै उनले चार जिल्लाका १० निर्वाचन क्षेत्रका घन्टीघर पुगेको पार्टीको दाबी छ।
राजनीतिक विश्लेषकहरू भने काठमाडौंजस्तो सहज क्षेत्र छाडेर मधेशमा केन्द्रित हुनु दुवै नेताको साहस भएको बताउँछन्। प्राध्यापक डा. विजयप्रसाद मिश्रका अनुसार कांग्रेसको संगठित आधार थापाका लागि बलियो पक्ष हो भने बालेनको यात्राले नयाँ पुस्तामा उत्साह थपेको देखिन्छ।
यसैबीच, बालेन महोत्तरीको एकडारास्थित आफ्नो पुर्ख्यौली घरमा पुगेर कुलदेउता ढोगेका छन्। जनकपुर–जलेश्वर हुँदै गाउँ पुगेका उनले बाटोभरि गाडीबाटै घन्टी बजाएर मतदातालाई अभिवादन गरे। मंगलबार बर्दिवास पुग्ने र बुधबार सर्लाहीतर्फ जाने उनको कार्यक्रम रहेको पार्टीले जनाएको छ।