कलैया, बारा । सरकारद्वारा जारी गरिएको विभेदकारी विज्ञापन निर्देशनको विरोधमा नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्ला प्रशासन कार्यालय बाराको मूलगेटमा एक घण्टे धर्ना कार्यक्रम आयोजना गरेको छ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत आयोजित उक्त विरोध कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय कोषाध्यक्ष केसी लामिछानेले पत्रकार मात्र नभई विभिन्न पेशाकर्मी, नागरिक समाज, बुद्धिजीवी तथा कानुन व्यवसायीहरू समेत छिट्टै सडकमा उत्रिने अवस्था सिर्जना भएको बताउनुभयो।




उहाँले वर्तमान सरकार इतिहासकै बलियो सरकारको रूपमा स्थापित भए पनि यसको व्यवहार र कार्यशैलीका कारण इतिहासकै कमजोर सरकारजस्तो देखिएको टिप्पणी गर्नुभयो। सरकारले यही शैलीलाई निरन्तरता दिए देश नै संकटतर्फ धकेलिन सक्ने खतरा रहेको उल्लेख गर्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सबै पेशागत समूह र आम नागरिक एकजुट भएर आवाज उठाउन ढिला गर्न नहुने धारणा व्यक्त गर्नुभयो।
धर्ना कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पास्वान, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा तथा प्रदेश कोषाध्यक्ष अनिलकुमार गौरवले समेत सम्बोधन गर्दै विज्ञापन वितरणसम्बन्धी विभेदकारी नीतिले स्वतन्त्र पत्रकारिता र सञ्चार माध्यमको अस्तित्वमाथि नै चुनौती खडा गरेको बताएका थिए।
कार्यक्रममा पत्रकार नेताहरू सत्यप्रकाश श्रेष्ठ, भोजराज भट्टराई, प्रियंका दास, नरेश गुप्ता, बसन्त लामा तथा रबिन्द्र सिंह लगायतको सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शाखा सचिव पुष्पराज खतिवडा ले गर्नुभएको थियो।
महासंघले प्रेस स्वतन्त्रता, समान विज्ञापन नीति तथा सञ्चारमाध्यमप्रति राज्यको विभेदकारी व्यवहार अन्त्य नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी समेत दिएको छ।






