कोल्हबी, बारा । इलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख प्रहरी निरीक्षक रन्जन मिश्रको सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी निरीक्षकहरूको सरुवा सूची सार्वजनिक गर्दै मिश्रलाई नयाँ जिम्मेवारीसहित वीरगन्ज पठाएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार मिश्रको सरुवा नेपाल प्रहरी प्रदेश कार्यालय, अन्वेषण योजना शाखा, वीरगन्जमा गरिएको छ। उनी केही समयदेखि इलाका प्रहरी कार्यालय कोल्हबीको नेतृत्व गर्दै आएका थिए।




मिश्रको स्थानमा झापास्थित इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको सरुवा कोल्हबीमा गरिएको छ। चोङवाङले अब कोल्हबी क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी प्रशासनको नेतृत्व सम्हाल्नेछन्।
बुधबार प्रहरी महानिरीक्षकको निर्णयअनुसार गरिएको सरुवामा बारा जिल्लाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत सात जना प्रहरी निरीक्षकसहित देशभरका ५०९ जना प्रहरी निरीक्षकको सरुवा तथा काज व्यवस्थापन गरिएको हो। सरुवा भएका प्रहरी अधिकृतहरूले असार महिनादेखिको तलब–भत्ता नयाँ दरबन्दीबाट बुझ्ने व्यवस्था गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कोल्हबी क्षेत्रका नागरिकले मिश्रको कार्यकालमा भएका सुरक्षा गतिविधि र अपराध नियन्त्रणका प्रयासको चर्चा गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका छन्। साथै, नयाँ प्रमुखका रूपमा आउन लागेका चोङवाङबाट पनि प्रभावकारी सुरक्षा सेवा प्रवाह हुने अपेक्षा गरिएको छ।






