बारा, कोल्हवी । बारा जिल्लाको कोल्हवी नगरपालिका–१ निवासी सुलभ चौधरीले बागमती प्रदेश स्तरीय कराते प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै आफ्नो गाउँ, नगर तथा प्रदेशको नाम उच्च बनाएका छन्।
कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरीका नाति तथा सरोज चौधरीका छोरा सुलभले हालै सम्पन्न बागमती प्रदेश स्तरीय कराते प्रतियोगितामा काँता (Kata) तर्फ प्रथम स्थान हासिल गर्दै एकल विजेता बन्न सफल भएका हुन्।
प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाबाट छनोट भई आएका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको थियो।




कडा प्रतिस्पर्धाबीच उत्कृष्ट प्रदर्शन गरेका सुलभले उपाधि जितेसँगै आगामी २०८३ चैत २० गतेदेखि सञ्चालन हुने राष्ट्रिय कराते प्रतियोगितामा बागमती प्रदेशको एकल प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्।
उनको यस उल्लेखनीय सफलतापछि परिवार, शुभेच्छुक, खेलप्रेमी तथा स्थानीयवासीबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ। सुलभका पिता सरोज चौधरीका अनुसार राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ उनले तयारीलाई तीव्रता दिएका छन्।
यद्यपि यस्ता प्रतिभाशाली खेलाडीहरूको उचित संरक्षण, प्रोत्साहन र व्यवस्थापन हुन नसक्दा खेल क्षेत्रमा लागेका युवाहरू पलायन हुने जोखिम बढिरहेको स्थानीयवासीको भनाइ छ। खेलकुद विकासका लागि केवल समिति गठनमा सीमित नभई खेलाडी उत्पादन, प्रशिक्षण र संरक्षणमा प्रभावकारी भूमिका खेल्न सक्ने नेतृत्व तथा दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।
सुलभ चौधरीको सफलता कोल्हवी नगरका लागि मात्र नभई सम्पूर्ण बारा जिल्लाका खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।






