नवीन चौधरी, कलैया । मधेस प्रदेश सरकारका बिना विभागीय मन्त्री मोहम्मद समीरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषद्को कार्यविभाजनअनुसार उनले मन्त्रालयको नेतृत्व सम्हालेसँगै प्रदेशको विकास निर्माण क्षेत्रमा नयाँ आशा जागेको छ।
प्रदेश सरकारको महत्वपूर्ण मन्त्रालयमध्ये एक मानिने भौतिक पूर्वाधार विकास मन्त्रालय अब समीरको नेतृत्वमा सञ्चालन हुने भएपछि सडक, पुल, भवन, सिँचाइ तथा शहरी पूर्वाधार निर्माणका योजनाले गति लिने अपेक्षा गरिएको छ।




जिम्मेवारी सम्हाल्दै मन्त्री समीरले विकास निर्माणका अधुरा तथा अलपत्र योजनालाई प्राथमिकताका साथ सम्पन्न गरिने बताएका छन्। उनले गुणस्तरीय निर्माण, पारदर्शिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री समीरका अनुसार ग्रामीण सडक सञ्जाल विस्तार, पुल निर्माण, सरकारी संरचना विकास तथा जनताको प्रत्यक्ष सरोकार रहेका पूर्वाधार आयोजनालाई तीव्र गतिमा अगाडि बढाइनेछ। प्रदेशवासीले प्रत्यक्ष अनुभूति गर्ने खालका विकास योजनालाई प्राथमिकतामा राखेर परिणाममुखी काम गरिने उनको भनाइ छ।
पछिल्लो समय मधेस प्रदेशमा विकास निर्माणका काम सुस्त भएको गुनासो भइरहेका बेला समीरको नेतृत्वले नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। राजनीतिक तथा प्रशासनिक वृत्तमा समेत उनको नयाँ जिम्मेवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नयाँ जिम्मेवारी पाएपछि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले मन्त्री समीरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। मन्त्री समीरको नेतृत्वमा मधेस प्रदेशको विकास निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ।






