काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
बैठकमा सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने संसद् सचिवालयले जनाएको छ।




राष्ट्रपति राम चन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले आ–आफ्ना धारणा राख्दै कार्यक्रमका सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षबारे चर्चा गरेका थिए।
आजको बैठकमा सांसदहरूको थप सहभागितासहित छलफल टुंग्याएर नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यही अधिवेशनमार्फत सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पनि संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ।
यता, राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १२ः१५ बजे बस्ने तय भएको छ। उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको प्रारम्भिक छलफल सुरु हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ।






