कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराका केही स्थानीय तहका वडाहरूमा अधिवेशन प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।
पार्टीको बारा जिल्ला समन्वय समितिद्वारा जारी सूचनाअनुसार मिति २०८३ बैशाख २३ गतेको निर्णयअनुसार महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिकाका विभिन्न वडाहरूमा हुने भनिएको वडा अधिवेशन तत्कालका लागि स्थगित गरिएको हो।




सूचनामा जनाइएअनुसार अधिवेशनसम्बन्धी आगामी प्रक्रिया सुरु भएपछि सम्बन्धित वडाहरूमा पुनः प्रक्रिया अगाडि बढाइनेछ। नामावली प्रकाशन, उम्मेदवारी दर्ता तथा दाबी–विरोधलगायतका चरणहरू पूरा भएपछि मात्रै अधिवेशनको बाँकी प्रक्रिया सञ्चालन गरिने पार्टीले स्पष्ट पारेको छ।
रास्वपाका अनुसार अधिवेशन निष्पक्ष, व्यवस्थित र विवादरहित बनाउनका लागि हालको निर्णय लिइएको हो। साथै, आगामी निर्णय र प्रक्रिया सम्बन्धी जानकारी समयमै सरोकारवाला सबैलाई गराइने जनाइएको छ।
उक्त सूचना पार्टीका बारा जिल्ला निर्वाचन आयुक्त श्रीभगवान महतोद्वारा जारी गरिएको हो। 




